नेपाल पुनर्स्थापकीय न्याय मञ्च (Nepal Forum for Restorative Justice) पुनर्स्थापकीय न्याय, सम्वाद र शान्ति निर्माणको क्षेत्रमा कार्यरत गैरनाफामूलक, गैरदलीय गैरसरकारी संस्था हो । सन् २०१४ मा अनौपचारिक रुपमा सुरु भएको यस संस्थाको औपचारिक सुरुवात सन् २०१७ मा काठमाडौँमा भएको हो ।सुरुवाती समयदेखि नै यस संस्थाले पुनर्स्थापकीय न्यायको सिद्धान्त र अभ्यासको प्रवर्द्धनमा स्थानीय समुदायिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अभियानका रूपमा काम गर्दै आएको छ ।
सम्मान, अन्तरसम्बन्धता, समावेशीता, सहृदयीता, जवाफदेहिता र सहसशक्तिकरण यस संस्थाका मान्यताहरू हुन् । यसको कार्यालय का.म.न.पा.को वडा नं ५, हाँडीगाँउ, काठमाडौँमा रहेको छ ।
यस संस्थाका उद्देश्यहरू
(क) नेपाल राज्यको आर्थिक, सामाजिक, सांस्कृतिक एवम् शैक्षिक क्षेत्रबाट पछाडि परेका जनताको पक्षमा वकालत गर्न र न्याय दिलाउन आवश्यक कार्यक्रमहरू सञ्चालन गर्ने ।
(ख) अन्याय, अपराध, द्वन्द्व वा पीडामा पर्न गएका व्यक्तिलगायत आर्थिक, सामाजिक, क्षेत्रीय, जातीय लगायत सांस्कृतिक तवरले पछाडि परेका जनसमुदायलाई आवश्यकता अनुसार सामाजिक, मनोसामाजिक, भावनात्मक सहयोग गर्ने तथा पर्न गएको आघात कम गर्न विभिन्न माध्यमद्वारा सहयोग पुर्याउने ।
(ग) न्यायमा पहुँच नपुगेका व्यक्ति, समूह र समुदायलाई पुनस्थापकीय न्यायको आयामबाट विभिन्न कार्यक्रमको माध्यमबाट सहजीकरणको भूमिका निर्वाह गर्ने ।
(घ) बाल बिज्याईको कारणले बालसुधार गृहमा बसेका बालबालिकाहरुलाई समाजमा पुनर्स्थापनाको लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने तथा बालबालिकासँग सम्बन्धित अन्य पुनर्स्थापकीय न्यायका कार्यक्रमहरू गर्ने ।
(ङ) कैद जीवन काटिरहेका व्यक्तिहरूलाई कानूनी सल्लाह, परामर्श लगायत विभिन्न सहयोग प्रदान गर्ने तथा समाजमा पुनर्स्थापना गर्न आवश्यक कार्यक्रमहरू सञ्चालन गर्ने ।
च) मेलमिलाप, मध्यस्थता, वार्ता, द्वन्द्व रुपान्तरण, शान्ति निर्माण, संक्रमणकालीन न्यायसम्बन्धी तालिम तथा आवश्यक कार्यक्रमहरू सञ्चालन गर्ने ।
(छ) पुनर्स्थापकीय न्यायसम्बन्धी नीति निर्माण गर्ने सम्बन्धित निकायहरूसँग समन्वय गरी निरन्तर पैरवी गर्ने ।
(ज) पुनर्स्थापकीय न्याय, कानून तथा समाजसम्बन्धी विभिन्न क्षेत्रमा आवश्यकता अनुसार अध्ययन तथा अनुसन्धान गर्ने गराउनुका साथै ती कार्यपत्र, अनुसन्धान प्रतिवेदनहरू प्रकाशन गर्ने ।
(झ) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न तालिम, गोष्ठी, परामर्श, प्रस्ततिकरण, कार्यशाला, सेमिनार, आदिमा सहभागी हुने तथा त्यस्ता कार्यक्रमहरू आयोजना गर्ने ।