पुनर्स्थापकीय न्याय एक विधि हो जसको प्रयोगले विद्यालयमा उत्पन्न भएका समस्या वा विवादलाई रूपान्तरण गरी सम्मानजनक र सकारात्मक सिकाइको वातावरण सिर्जना हुन्छ ।
विद्यालयमा पुनर्स्थापकीय अभ्यासको उद्देश्य :
- दण्डसजायको अवधारणाभन्दा सिकार्इमा ध्यान दिनु ।
- विद्यार्थीहरू आफ्ना व्यवहारबारे स्वमूल्यांकन गर्ने सक्ने हुनु र आफ्ना कार्यहरूप्रति जवाफदेहि हुनु र आफ्ना व्यवहारप्रति स्वामित्व लिनु ।
- विद्यार्थीहरू आफूले गरेका कृयाकलापले अरूलाई परेका असर र प्रभावका बारेमा जानकार हुनु ।
- विवाद वा समस्या कम गर्ने प्रकृयामा समुदायको सहभागिताको महत्त्व बुझ्नु ।
- सहभागीबीच समानुभूतिको अभ्यास गराउनु ।
- पारस्परिक संलग्नताको आधारमा विद्यालयमा सकारात्मक सामाजिक सम्बन्धहरू बढाउनु । विद्यार्थीहरू आफूबीच र शिक्षक बीचमा सम्मानजनक व्यवहार निर्माण गर्नु ।
- अरू मानिसहरू, उनीहरूको विचार र भावनाहरूको सम्मान गर्नु ।
दण्डसजायले नकारात्मक असर सिर्जना गर्दछ जस्तै: कक्षामा अनुपस्थित रहनु, विद्यालयबाट निकालिनु, विद्यालय छोड्नेहरूको संख्या बढ्नु, पढ्न ईच्छा कम हुनु, विद्यालय आउन मन नहुनु, गल्ती गरेपश्चात लाज सिर्जना हुनु । यसको सट्टा पुनर्स्थापकीय अभ्यासले सरोकारवालालाई एक ठाउँमा ल्याउने उद्देश्य राख्दछ ।
विद्यालयमा पुनर्स्थापकीय अभ्यासहरू लागू गर्ने तरिकाहरू
पुनर्स्थापकीय अभ्यासहरूको कार्यान्वयन सबै एकैचोटि हुनु आवश्यक छैन । कक्षामा पुनर्स्थापकीय न्यायको प्रयोग सुरु गर्न निम्न कुरा गर्न सकिन्छ :
क. पुनर्स्थापकीय अभ्यासहरू सफल हुनको लागि समस्या समाधान, समानुभूति, सकारात्मकता, र सञ्चार सीप आवश्यक हुन्छ जसको बारेमा तालिम वा सीप विकासका कार्यक्रमहरू गर्न सकिन्छ ।
ख. पुनर्स्थापकीय न्याय प्रक्रियामा सरोकारवाला वा सहभागीहरूले समाधान खोज्न सँगसँगै काम गर्दछन् । त्यसैले विद्यार्थीहरूलाई उनीहरूको समस्याहरूको बारेमा स्वतन्त्र रूपमा व्यक्त गर्ने उनीहरूको सम्बन्धको आधार निर्माण गर्न सजिलो बनाइन्छ ।
ग. कुराकानी (अनुभव) राख्नका लागि सुरक्षित र सहज ठाउँ उपलब्ध गराइनुपर्छ र प्रोत्साहित गर्नुपर्छ
घ. सवाल भएकाहरू बीच साझा मञ्च निर्माण गर्ने र सरोकारवालाहरू बीच खुला सम्वाद अभ्यास गराउन सकिन्छ ।