२०८१ साल कार्तिक ३० र मङ्सिर १ मा आयोजना हुन लागेको NFRJ प्रथम राष्ट्रिय बाल न्याय अभ्यास अदालत प्रतियोगिता, २०८१ को मुद्दा र प्रतियोगिता सम्बन्धी नियमहरू २०८१ भदौ ०९ मा नै प्रकाशन भइसकेको छ । यस सम्बन्धमा मुद्दामा पुनरावेदन गर्नुपर्नेमा केही जिज्ञासा र प्रश्नहरू बारम्बार आइरहेको हुनाले पुनरावेदन सम्बन्धी केही प्रश्नको जवाफहरू तल दिइएको छ ।
क) पुनरावेदन भनेको के हो ?
अदालत/अर्धन्यायिक निकायले गरेको फैसला वा अन्तिम आदेश उपर चित्त नबुझ्ने पक्षले फैसला भएको थाहा पाएको मितिले कानुन बमोजिम माथिल्लो अदालतमा पुनः निवेदन गर्ने कार्य नै पुनरावेदन हो ।
यस मुद्दामा जिल्ला अदालतबाट भएको फैसलामा नेपाल सरकारले चित्त नबुझाई पुनरावेदन गर्नु पर्ने छ भने प्रतिवादी मध्यको नाबालिका परिवर्तित ५४ सिन्धुपाल्चोक (६) ले उनको हकमा भएको फैसला चित्त नबुझाई पुनरावेदन गर्नु पर्ने छ ।
ख) यस मुद्दामा भएका हरेक पक्षको तर्फबाट पुनरावेदन गर्नुपर्ने हो कि होइन ?
होइन । नेपाल सरकारको अभियोग दावीमा २ जना; १ नाबालक, १ नाबालिकालाई भिन्न भिन्न कसूर गरेको भनी अभियोग दर्ता गरेको थियो । यस सम्बन्धमा सरकार पक्षले अभियोग दावी लिए अनुसार नाबालिका ५४ सिन्धुपाल्चोक (६) ले सजाय पाएकी छिन् । तर नाबालक ५४ सिन्धुपाल्चोक (७) को हकमा हरेको अभियोग दावी गरेबमोजिमको फैसला नभई जिल्ला अदालतले निज नाबालकलाई सफाइ दिएको छ ।
यस NFRJ प्रथम राष्ट्रिय बाल न्याय अभ्यास अदालत प्रतियोगिता, २०८१ को मुद्दाको विवरण मा पृष्ठ ६ को पुनरावेदन खण्डको (ख) मा उल्लेख गरे अनुसार नेपाल सरकारले नाबालकको हकमा मात्र चित्त नबुझाई पुनरावेदन गर्नुपर्ने हो । यसमा नाबालकको कानुन व्यवसायीले पुनरावेदन गर्नु पर्ने देखिदैन । सफाई पाएको पक्षले पुनरावेदन गर्नु पर्ने अवस्था यस मुद्दामा छैन ।
ग) “बहसका क्रममा विपक्षीबाट आउने सबै जिकिरहरू खण्डन गर्नुहोस्” भन्नाले के बुझ्नुपर्छ ?
नेपाल सरकार नाबालक र नाबालिका दुवै पक्षको विपक्षी नै हो । त्यसैले “विपक्षीबाट आउने सबै जिकिर” भन्नाले नाबालिकाको कानुन व्यवसायीले नाबालिकाको हकमा राख्ने जिकिर नेपाल सरकारले खण्डन गर्नुपर्दछ । यसमा, नाबालकको कानुन व्यवसायीको पाटो नभएको हुनाले नाबालको तर्फबाट खण्डन गर्नु पर्ने आवश्यकता देखिदैन ।