
२०८१ श्रावण ३ गते
हरेक बर्ष जुलाई १८ तारिखलाई नेल्सन मण्डेला अन्तर्राष्ट्रिय दिवसको अवसरमा मनाइने गरिन्छ र यस अवसरमा नेपाल पुनर्स्थापकीय न्याय मञ्चले मानव अधिकारको सम्मानको पक्षमा वकालत गर्ने सबैप्रति श्रद्धा अर्पण गर्न चाहन्छ ।
सन् १९५५ मा, संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरूले अपराध रोकथामसम्बन्धी पहिलो संयुक्त राष्ट्र संघीय महाभेलामा कैदीबन्दीहरूप्रति गरिनु पर्ने व्यबहारबारे न्यूनतम मानक नियमहरू अपनाएका थिए र विगत ६० वर्षभन्दा बढी यी नियमहरूले कारागार व्यवस्थापन र कैदीबन्दीको हितका लागि विश्वव्यापी रूपमा मान्यताप्राप्त मापदण्डको रूपमा काम गरिराखेका छन् । सन् २०१५ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको महासभाले यी नियमहरूसंशोधित गर्नुका साथै न्याय र मानव अधिकारको लागि २७ वर्ष कारागार जीवन बिताउनुभएका दक्षिण अफ्रिकी नेता श्री नेल्सन मण्डेलाको सम्मानमा ती नियमहरूलाई “मण्डेला नियमहरू” को नाम दियो । त्यसपश्चात हरेक वर्ष १८ जुलाईलाई विश्वभर “नेल्सन मण्डेला अन्तर्राष्ट्रिय दिवस” को रूपमा मनाउने गरिन्छ।
नेल्सन मण्डेला नियमहरूलाई कानूनी रूपमा बाध्यकारी नमानिएता यी नियमहरूलाई कैदीबन्दीहरूप्रति गरिनुपर्ने विश्वव्यापी सर्वसम्मत न्यूनतम मापदण्डहरूको रूपमा हेरिने गरिन्छ । संयुक्त राष्ट्रसंघका धेरै सदस्य राष्ट्रहरूले यी नियमहरूलाई आफ्नो राष्ट्रिय कानूनमा समावेश गरेका छन् वा गर्ने प्रक्रियामा छन् । नेपाल सरकारले पनि यस मण्डेला नियमप्रति केही कदमहरू चालेको छ र आउँदा दिनहरूमा यसतर्फ कार्ययोजनाहरू बनेका छन् ।
यसै अवसरमा नेपाल पुनर्स्थापकीय न्याय मञ्च नेपालको न्याय प्रणालीभित्र पुनर्स्थापकीय न्यायका मान्यता र अभ्यासहरूको प्रवर्द्धनमा निरन्तर लागिरहने प्रतिबद्धता ब्यक्त गर्न चाहन्छ । साथै नेल्सन मण्डेला नियमहरूको पूर्ण कार्यान्वयनको लागि निरन्तर काम गर्न नीतिनिर्माताहरू, न्यायकर्मीहरू र नेपाली नागरिक समाजलाई आह्वान गर्दै हातेमालो पनि गर्न चाहन्छ ।